कंगो : इबोलाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले कंगोमा आपतकालको घोषणा गरेको छ । इबोलाविरुद्धको अभियानका लागि सम्पन्न देशहरुलाई थप आर्थिक सहयोगको आब्हान गर्दै ‘डब्लुएचओ’ले आपतकालको घोषणा गरेको हो ।
कंगोमा फैलिएको इबोलाको महामारी अन्तराष्ट्रियस्तरमा चासो दिइनुपर्ने किसिमको भएको उसको भनाई छ । आपतकाल घोषणाले इबोला बिरुद्धको अभियानमा थप आर्थिक सहयोग जुटाउन लागि बाटो खुल्ला हुने अपेक्षा गरिएको छ ।
आपतकाल घोषणा गरे पनि कंगोका सीमा क्षेत्र बन्द गर्नु पर्ने अवस्था भने नरहेको बताइएको छ । इबोला महामारीका कारण कंगोमा अहिलेसम्म १६ सय जना भन्दा बढीको मृत्यु भैसकेको छ ।
दश लाख मानिसहरुको बसोबास रहेको गोमा क्षेत्रमा पनि पछिल्लो समय संक्रमण फैलिएको छ । कंगोका नर्थ किभू र इतुरी प्रान्तमा यसअघि नै यसले महामारीको रुप लिएको छ ।