काठमाडौँ : औलो रोग पूरै निको पार्ने औषधी पत्ता लागेको छ । अमेरिकी औषधी नियामक अधिकारीहरुले औलोविरुद्धको नयाँ औषधी स्वीकृत गरेका छन् । टाफेनोक्विन नामक सो औषधीले एकै डोजमा भाइभ्याक्स् नामक औलो रोग निर्मुल पार्न सक्ने नियामक अधिकारीले दाबी गरेका छन् । मलेरिया अर्थात औलो रोगविरुद्ध नयाँ औषधी स्वीकृत भएको, यो ६० वर्षपछिकै पहिलो हो ।
भाइभ्याक्स् औलोले विश्वमा वर्षेनी ८५ लाख मानिसहरु प्रभावित हुने गरेका छन् । भाइभ्याक्स औलोका बिरामीले औषधी सेवन गरेपनि उनीहरूको कलेजोबाट परजीवीहरू पूर्ण रुपमा नहट्ने र रोग बल्झिरहने समस्या देखिने गरेको छ । तर अब यो औषधीले कलेजोबाटै निर्मुल पार्ने दाबी अमेरिकी अधिकारीहरुले गरेका छन् ।