इजिप्ट : इजिप्टमा ७५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सन् २०१३ मा भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीद्वारा प्रदर्शनकारी मारिएको मुद्दाको सुनुवाइका क्रममा मुस्लिम ब्रदरहुडका नेतासहित ७५ कार्यकर्तालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । सोही घटनामा अन्य ४७ जनालाई आजीवन काराबासको सजाय सुनाइएको छ ।
एमनेस्टी इन्टरनेशनलले उक्त सुनुवाइलाई पूर्ण रुपमा असमान तथा इजिप्टको संविधानको उल्लंघन भनेको छ । सजाय सुनाइएकाहरूमाथि हिंसा भड्काएको, हत्या तथा गैरकानुनी प्रदर्शनहरूको आयोजना गरेको जस्ता सुरक्षासम्बन्धी मुद्दा लगाइएको छ ।
सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरिएपछि मुस्लिम ब्रदरहुडले विरोध प्रदर्शन गर्ने क्रममा हिंसा भड्किएको थियो । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूद्वारा ८ सय १७ जना मारिएका थिए । प्रदर्शनका क्रममा ४३ जना प्रहरी पनि मारिएका थिए । मुस्लिम ब्रदरहुडलाई त्यहाँको सरकारले आतंकवादी संगठनको सूचीमा राखेको छ ।