काठमाडौँ : यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल असोज १३ गते शनिबार दिउँसो ३ बजे हुनेछ ।
तेह्र चरणसम्म खेलाइने लिगको सबै खेल तालिका सार्वजनिक गरिएको छ । ए डिभिजनका १४ वटै क्लबका प्रतिनिधि सहभागी भई गरेको गोला प्रथाद्वारा सार्वजनिक गरिएको तालिकामा पहिलो राउन्डमा सातवटा खेल हुनेछन् ।
खेल तालिकाअनुसार पहिलो चरणको खेलमा यही असोज १३ एनआरटी क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । १४ गते दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मनाङ–मस्र्याङ्दी क्लबसँग खेल्नेछ । १४ गतेको दोसो खेलमा मछिन्द्र क्लबले च्यासल युथ क्लबसँग सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा सामना गर्नेछ ।
असोज १४
मछिन्द्र क्लबविरुद्ध च्यासल युथ क्लब
असोज १५
फ्रेन्ड्स क्लबविरुद्ध थ्री स्टार क्लब
जावलाखेल युथ क्लबविरुद्ध नेपाल पुलिस क्लब
असोज १६ गते
हिमालयन शेर्पा क्लबविरुद्ध एपिएफ क्लब
सरस्वती युथ क्लबविरुद्ध सङ्कटा युथ क्लब
पहिलो चरणका खेलहरू सकिएपछि तीन कुनै पनि खेल हुँदैनन् भने १९ गतेदेखि दोस्रो चरणका खेलहरू हुनेछन् । दोस्रो चरणको पहिलो खेल
असोज १९ गते
एनआरटीविरुद्ध मनाङ–मस्र्याङ्दी क्लब
त्रिभुवन आर्मीविरुद्ध च्यासल युथ क्लब
असोज २० गते
ब्रिगेड ब्वाइजविरुद्ध थ्री स्टार क्लब
मछिन्द्र क्लबविरुद्ध नेपाल पुलिस
असोज २१ गते
फ्रेन्डस क्लबविरुद्ध एपिएफ
हिमालयन शेर्पाविरुद्ध सरस्वती युथ क्लब
जावलाखेल युथ क्लबविरुद्ध सङ्कटा
असोज २४ गतेदेखि तेस्रो चरणका खेलहरू हुनेछन् । तेस्रो चरणपछि चाडपर्व शुरु हुने भएकाले एक महिना लिग स्थगित हुनेछ । महत्वपूर्ण चाडपछि आगामी मङ्सिर २ गतेदेखि पुनः लिगका खेलहरू हुनेछन् ।
लिगमा १४ ’ए’ डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख रुपैयाँ पाउने छन् ।
लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले सात लाख र छैटौँले पाँच लाख रुपैयाँ पाउने छन् । फेयर प्ले टिमले एक लाख रुपैयाँ पाउनेछ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपैयाँ दिनेछ ।
यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लोपटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।